लगानीकर्ता र ऋणीलाई सरकारले सहुलियत दिनुपर्छः अध्यक्ष नेपाल

२३ मंसिर २०८०

२३ मंसीर स्वच्छखबर,कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले अर्थतन्त्र कामचलाउको अवस्थामा छ भनेर चित्त बुझाएर बस्न नहुने बताए ।

अध्यक्ष नेपालले जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले बेथिति र विसङ्गति अन्त्यका लागि पटक–पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गर्दैआएको बताए ।

उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको अध्यक्ष नेपालले स्पष्ट पारे ।