फिफा महिला विश्वकप आयोजना गर्न तीन समूहको निवेदन

२३ मंसिर २०८०

२३ मंसीर स्वच्छखबर,काठमाडौं । फिफाले सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको शनिबार पुष्टि गरेको छ ।

युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि शुक्रबारको समयसीमाभन्दा ठीक अघि अर्को संयुक्त निवेदन पेश गरेका छन् ।

त्यस्तै ब्राजिलले भने एकलपमा आयोजनाका लागि निवेदन दिएको छ । फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिफाले सन् २०२४ को फेबु्रअरीमा हुने स्थलगत निरीक्षण भ्रमणसहित विस्तृत मूल्याङ्कन प्रक्रिया सञ्चालन गर्नेछ र त्यसपछि मे २०२४ पछि बोलपत्र मूल्याङ्कन प्रतिवेदनमा आफ्नो निष्कर्ष प्रकाशित गर्नेछ ।’

सन् २०२४ को मे १७ मा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ । दक्षिण अफ्रिकाले सन् २०३१ का लागि तयारी अवस्थामा रहेको बोलपत्र पेश गर्न चाहेको बताएपनि गत महिना पछि हटेको थियो ।

संयुक्त राज्य अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्वकप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्वकप आयोजना गरेको थियो ।

गत वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएको थियो ।