द्वन्द्वकालका घटनाको छानबिन सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप कार्यान्वयन हुन्छ :प्रधानमन्त्री

२४ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्नका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप प्रभावकारीरूपमा कार्यान्वयन गरिने बताएका छन् ।

मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ती आयोगसम्बन्धी कानुनमा विद्यमान कानुनमा परिमार्जन र संशोधन गर्न सङ्घीय संसद्मा विधेयक पेश गरिएको जनाए ।

मानवअधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायको साझा उपलब्धि र आधारभूत मापदण्डको रूपमा लिइएकाले सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा प्रत्याभूत गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रावधानलाई सम्मान गरिने स्पष्ट पारे ।

राज्यको साधनस्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनका विषय थप चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त महत्त्वपूर्ण राजनीतिक उपलब्धिको जगमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गरी विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गरी समतामूलक समाज निर्माण गर्न इमान्दार रूपले सत्प्रयास गर्नु सबैको कर्तव्य हो भने ।

सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सृजना गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको बताए ।