एनसेल प्रकरणमा दुस्प्रचार गरी जनतालाई भ्रममा पार्ने षडयन्त्र भयो: प्रधानमन्त्री

२५ मंसीर स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।
पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे ।
प्रधानमन्त्रीका रुपमा आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको बताए ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्: