ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबिएनएल सेक्युरिटिज सञ्चालनमा

२५ मंसिर २०८०

२५ मंसीर स्वच्छखबर, काठमाडौँ ।  ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरू गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार एक समारोहबीच कम्पनीको उद्घाटन गरी टिएमएसमार्फत् धितोपत्र खरिद सेवाको सुरू गरेका हुन् ।

समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे र धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँ बानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेञ्जको धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ।