मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

२७ मंसिर २०८०

२७ मंसीर स्वच्छखबर, जलेश्वर (महोत्तरी) । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ ।

महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम र जनकपुरका राजा जनककी छोरी सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन रहँदै आएको छ । सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी सो विवाह महोत्सवमा उपस्थित हुने चलन छ ।

सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने चलन छ । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्दछन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन छ ।

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन रहेको छ । आगामी आइतबार जनकपुरमा हुने विवाह पञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेकँ छन् ।