‘देशमा अवसर छैन’ भनी नेपाली युवाहरू रुसी सेनामा भर्ना हुनु चिन्ताको विषयः प्रधानमन्त्री

२७ मंसिर २०८०

२७ मंसीर स्वच्छखबर, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गरी नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने कुरालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । बुधबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई मैले गम्भीरतापूर्वक लिएको छु । आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छँदैछ, साथसाथै अन्तर्राष्ट्रिय स्तरको पनि हुनु अत्यावश्यक छ । त्यस सम्मेलनबाट आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने मेरो तर्फबाट हरसम्भव प्रयास हुनेछ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री त्यस सम्मेलनमा र आज पनि उपस्थित हुनुभएको हुँदा उहाँले यी विषयलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनतर्फ लैजान ठोस कदम चाल्नुहुनेछ ।’

उनले काठमाडौं विश्वविद्यालयले नेपालको मौलिक ज्ञान सीपलाई विश्व बजारसँग जोडेर नेपाली शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न गरिरहेको प्रयासको प्रशंसा गरे ।

उनले भने, ‘मलाई अझ खुसी के कुरामा लाग्छ भने काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहनुभएका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ । कोप–२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊर्जा सङ्क्रमण (इनर्जी ट्रान्जिसन) मा यस विश्वविद्यालयले हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल हुनुभएको छ । त्यसले बृहत् रूपमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पनि पाएको छ । त्यसका लागि म विश्वविद्यालय परिवारलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।’

प्रधानमन्त्रीले नेपालमा अवसर नै छैन भन्ने भाष्य निर्माण गरिएको बताए । उनले भने, ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ ।’