महासमिति बैठक फागुनमा गर्ने कांग्रेसको निर्णय

२९ मंसिर २०८०

२९ मंसीर स्वच्छखबर,काठमाडौँ  ।  नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो ।

योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटकको लागि सरेको छ । महतले भने, ‘राष्ट्रिय सभाको पनि निर्वाचन हुँदै छ । त्यतातिर पनि हामी लाग्नुपर्ने हुन्छ । फागुन ७ देखि १० गतेसम्म महासमितिको बैठक बस्ने कुरा आजको बैठकमा प्रस्तावित भएको छ  ।’

त्यस्तै बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेसले दल दर्ता गर्ने निर्णय समेत गरेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि गठबन्धन दलसँग छलफल हुन बाँकी रहेको उल्लेख गर्दै निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको जानकारी महतले दिए ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आजसम्मको समय तोकेको छ । बैठकले राष्ट्रियसभाको निर्वाचनबारे काम गर्ने अधिकार कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ ।