नेप्सेमा उच्च अंकको बृद्धि, पाँच अर्ब रुपैयाँकाे काराेबार

१ पुष २०८०

१ पुष, स्वच्छखबर, काठमाडौँ ।  साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ । व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।

आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ ।

आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ । गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो ।

आज एक करोड ७१ हजार कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।