हाम्रो शिक्षाले आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्छः प्रधानमन्त्री

१ पुष २०८०

१ पुष, स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा अवस्थित जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा परेको बताए ।

आधारभूत तहदेखि नै पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताएको उनको सचिवालयले जनाएको छ ।

समुदायको आफ्नै पहल, लगानी र संरक्षकत्वमा स्थापित यस विद्यालयले आफ्नो जीवनको आधा शताब्दीको शैक्षिक यात्रा पूरा गरेकामा प्रधानमन्त्रीले धन्यवाद दिए ।

अभिभावकको सहभागिता, शिक्षकहरूको सहजीकरण, स्थानीय सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ‘शिक्षा सम्मेलन २०८०’ सम्पन्न गरेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे ।

शिक्षाले देश भक्तिको भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्ने उनको जोड छ । सङ्घीय लोकतान्त्रिक प्रणाली, हाम्रो संविधानको व्यवस्था र नवीनतम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षामा गुणात्मक रूपान्तरण गर्नु देशको महत्त्वपूर्ण कार्यभार भएको प्रधानमन्त्रीले उल्लेख गरे।

जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विधेयकलाई संसद्बाट पारित गराइ छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको प्रष्टोक्ति छ ।