अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग

९ पुष २०८०

९ पुष, स्वच्छखबर, गलकोट ।  आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो।

कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए।

मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाए।

बागलुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवर्द्धन भएको भन्दै धेरेले प्रशंसासमेत गरेका छन्। मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउँदा अतिथि दङ्ग परेका बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले बताए।

उनका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको वडा नं ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रुपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बागलुङ–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। साग खाने र डोको सजाएर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उनको भनाइ छ।

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर रहेको छ। यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिपभरी सागमात्रै बागलुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताए। यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिल माया र टीकाबहादुर थापाले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उनले बताए।

रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ। यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन्।