अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ : प्रधानमन्त्री

११ पुष २०८०

११ पुष, स्वच्छखबर, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत बुधबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका हुन् ।

“जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उनले भने, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।”

प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिए । उनले विशेष रुपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठूलो बलिदानीपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताए । उनले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गरे

प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिए ।