युद्धका कारण गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त,३६ अस्पतालमध्ये आठ मात्र सेवा दिन सक्ने अवस्थामा

१५ पुष २०८०

१५ पुष, स्वच्छखबर,  गाजा  । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् ।टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उदृत गर्दै स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू लगातय समावेश छन् । यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजामा आतङ्ककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ ।

प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालमध्ये केवल आठ अस्पतालले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा रहेका बताएको छ । यद्दपी त्यहाँ पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ ।

सेनाले उत्तरी गाजाको बेट लाहियामा हमासले प्रयोग गर्ने दुईवटा भवनहरू पनि ध्वस्त पारेर बम, बन्दुक र सञ्चार उपकरणहरू सहित ठूलो मात्रामा सैन्य उपकरणहरू जफत गरेको बताएको छ ।