बालकुमारी घटनाकासम्बन्धमा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति

१६ पुष २०८०

१६ पुष, स्वच्छखबर,काठमाडौं ।  बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सोमबार गृह मन्त्रालयमा भेट भएको छ ।

मन्त्रिपरिषद बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गरेको परिस्थितिबीच भेटघाट भएको हो ।

भेटमा मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका सांसद एवम् जनप्रतिनिधिसहित गृहमन्त्रालय आएका आफन्तलाई गृहमन्त्री श्रेष्ठले न्याय दिलाएरै छाडिनेमा आश्वस्त बनाएका छन् ।

त्यससँगै मृतकका परिवार र गृह मन्त्रालयबीच चारबुँदे लिखित सहमति समेत भएको छ। मृतकका परिवारका तर्फबाट अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेको सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका छन् ।