बालकुमारी घटनाको अन्तर्यमा अरु नै केही छः प्रधानमन्त्री

१६ पुष २०८०

१६ पुष, स्वच्छखबर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनअपेक्षा अनुरुपको समृद्धि ल्याउन, विकास, शान्ति र व्यवस्थालाई बलियो बनाउनुपर्ने भन्दै सबैले त्यसका लागि संकल्प गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न नयाँ एकताको वातावरण बनेको बताएका हुन् ।

उनले भने, ‘विकास, शान्ति, संविधान कार्यान्वयन र व्यवस्थाको निम्ति हामी एकताबद्ध हुन आफूहरु तयार छौं भनेर जानुभयो । हामी तीन जना बेलाबेलामा शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउनका लागि बस्ने गरेका पनि छौं । यो सबै सन्दर्भ र पृष्ठभूमिमा आजको कार्यक्रमले एकताको सन्देश प्रवाह गर्यो । राष्ट्रिय एकता र सहमतिको आजको सन्दर्भमा जनताको आशा अपेक्षा सम्बोधन गर्ने एउटा नयाँ संकल्प गर्ने एकताको वातावरण बनायो ।’

यस्तै, उनले जनतालाई व्यवस्थाको पक्षमा बुझाउन नसकेको र जनअपेक्षाअनुसार काम गर्न गम्भीर र जिम्मेवार भएर नलागेकोमा सबैले आफूहरुले आत्मसमीक्षा गर्नुपर्ने बताए । ।

उनले व्यवस्थामाथि प्रश्न उठ्नुमा सबैको कमजोरी रहेको बताए । उनले भने, ‘लोकतन्त्रको विकल्प उन्नत र परिणाममुखी गणतन्त्र मात्रै हुन्छ । यो बीचमा हामीले व्यवस्थाको कुरालाई जुन गम्भीरता र जिम्मेवारीको साथ जनताको बीचमा लानुपथ्र्याे र लोकतान्त्रिक गणतन्त्रमार्फत जनताको अपेक्षा पूरा गर्न हामी जति जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने थियो, त्यहाँ कहीँ न कहीँ हाम्रा कमीहरु रहे, यसमा हामी सबैले आत्मसमीक्षा गर्नै पर्छ ।’

प्रधानमन्त्रीले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताए । उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए । उनले घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए । प्रधानमन्त्रीले घटनाको अन्तर्यमा अरु नै केही कुरा रहेको बताए ।