‘सेरिमोनियल’ त रामचन्द्रजी हुँदै हुनुहुन्छ त, कस्तो राजतन्त्र ल्याउन खोजेको ?

१६ पुष २०८०

१६ पुष, स्वच्छखबर,काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरूको प्रदर्शनमा गएर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुललाई उत्तेजित पारेको आरोप लगाएका छन् ।

सोमबार नेपाली कांग्रेसको राष्ट्रिय एकता र मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मन्त्री ज्वालाले प्रदर्शनमा आगोमाथि घीउ थप्ने काम गरेको बताएका हुन् ।

उनले भने, ‘हुलमा गएर उत्तेजित पारेर गोली चलाएर मान्छे मारेको छ । गोली मात्रै चलाएको होइन। बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे ठाउँको ठाउँ मरेको छ । नगइ नहुने के आइलाग्यो ? प्रश्नहरू उब्जिएका छन्।’ अध्यक्ष ओलीले कांग्रेसले मेलमिलाप दिवसको महत्व र सान्दर्भिकतालाई समयअनुसार रुपान्तरण गर्नुपर्ने बताए ।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ को संज्ञा दिए । उनले भने, ‘कस्तो राजा ल्याउन खोजेको ? यी राजनीतिक दलहरुले गरेनन् भनेर तानाशाह राजा बनाउन खोजेको भनेर सोध्दा होइन भन्छन् । संवैधानिक सेरिमोनियल राजा बनाउन खोजेको रे । सेरिमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त ।’

उनले नेपालमा राजतन्त्र असाधारण विषय भएको उल्लेख गर्दै कुनै पनि तानाशाहीतन्त्र ल्याउनै नदिने हो भने लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा सबै एक भएर उभिने बताए । उनले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग गठबन्धनकै ठूलो दल कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष पनि गरे ।

उनले भने, ‘अहिलको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै इच्छा छैन । अमन चयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमाभित्र मात्रै म रहन्छु ।’

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले आज कार्यक्रम आयोजना गरेको हो ।