लोकतन्त्रको विकल्प लोकतन्त्र नै होः सभापति देउवा

१६ पुष २०८०

१६ पुष, स्वच्छखबर,काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । ४८औं मेलमिलाप दिवसका अवसरमा पार्टीद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु व्यवस्था नभएको भन्दै यस विषयमा सबै पार्टीको बीचमा समान धारणा रहेको बताएका हुन् ।

उनले भने, ‘ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यस विषयमा हामी सबै एकता भएर जानुपर्छ । यस विषयमा हामी सबै पार्टीको बीचमा एउटा सहमति छ, एउटा धारणा छ, त्यो नै एकदमै महत्वपूर्ण छ । बीपीले दिएको सन्देश र बाटो पनि यही नै हो ।’ सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक स्थानमा बस्ने हाम्रो देशमा जुन संस्कार बनेको छ, सायद धेरै कम देशमा यस्तो हुन्छ । प्रतिस्पर्धा भए पनि हाम्रो बीचमा बोलीचाली, मेलमिलाप र भाइचाराको जुन वातावरण छ, त्यो धेरै कम देशमा हुन्छ ।’ उनले वर्तमान अवस्थामा सबै एक हुन आवश्यक भएको भन्दै बीपीले देखाएको बाटो पनि यही नै रहेको बताए ।