गायक प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’

१७ पुष २०८०

१७ पुष, स्वच्छखबर, काठमाडौं । गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ ल्याएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमवार सार्वजनिक गीतमा उनीसँगै प्रताप दास र कुशल बेलबासेले स्वर दिएका छन् । सुदीप सागरको संगीत संयोजन रहेको गीतमा प्रकाश स्वयंमको शब्द एवं संगीत छ । भिडियोमा प्रकाश ‘सकम्बरी’बाट उदाएकी मोडल कुसुम शर्मालगायतसँग देखिएका छन् ।

गायकहरूसँगै रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनील बिक, विशाल घिमिरे लगायतलाई समेत भिडियोमा हेर्न सकिन्छ । भिडियो सार्वजनिक गर्दै प्रकाशले देशमै केही गर्ने उत्साहसँगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरू गीतमा देखाउन खोजिएको बताएका छन् । प्रकाशकै लेखन एवं निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतिले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।