सूर्यदर्शन सहकारीका संचालक भविश्वर अर्याल र महेन्द्र भोटे जेल चलान

१८ पुष २०८०

१८ पुष, स्वच्छखबर, गण्डकी । पोखराको सूर्यदर्शन सहकारीका दुई संचालक जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश बसन्तजंग थापाको इजलासले सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ (महेन्द्र भोटे) बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनीहरु जेल चलान भएका छन् । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए । उनीहरू मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि बुधबार थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपछि न्यायाधीश थापाले अर्याल र गुरूङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका हुन् । यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन् । उनीहरु पनि पुर्पक्षका लागि थुनामा छन् ।