बरहथवा घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन

२१ पुष २०८०

२१ पुष, स्वच्छखबर, काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ । गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।  समितिलाई घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । मृतकका पारिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्रीबाट निर्देशन भएको विज्ञप्तिमा उल्लेख छ।  शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्राथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।