विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिनाको लगातार चौथो जित

२३ पुष २०८०

२३ पुष, स्वच्छखबर, काठमाडौँ । बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी भएकी छिन्। विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जितेका हुन् ।

तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उनले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने भएको बीबीसीले जनाएको छ ।

हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी जेएपीएले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जितेका हुन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिनाको यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो ।