श्रमिकबाट लिनुपर्ने लागत शुल्क निर्धारण, बायोमेट्रीक कूटनैतिक पहलबाट हटाउन व्यवसायीको माग

२३ पुष २०८०

२३ पुष, स्वच्छखबर, काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रीक कूटनैतिक पहल गरि हटाउनुपर्ने व्यवसायीहरूको माग राखेका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरूलाई अनिवार्य गरिएको बायोमेट्रीक कूटनैतिक पहल गरि हटाउनुपर्ने माग अघि सारेको हो ।

यस्तै,,मेनपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन्।  संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए । कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने उनको भनाइ छ।

रोजगारदाताबाट Recruitment Agency लाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने उनको भनाइ छ । तर, रोजगारदाता कम्पनीले नदिएको खण्डमा १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत अनुमान शुल्क लिन पाउनुपर्ने बताए ।

उक्त शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भए मात्र लागत खर्च पारदर्शी हुने उनको भनाइ छ । कामदारको उक्त रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाइनु पर्ने अध्यक्ष भण्डारीले बताए । उक्त रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेर तिर्ने व्यवस्था मिलाउनुपर्ने संघकाे माग छ।

संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रीक कूटनैतिक पहल गरि हटाउनु माग राखेको हो । त्यस्तै, वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्नुपर्ने समेत माग अघि सारेको छ ।

यी हुन संघले अघि सारेका मागहरू:

१) साउदी अरब दूतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रीक कूटनैतिक पहल गरी हटाउनु पर्ने ।

२) वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको प्राइभेट कम्पनी FWWMC बिच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्नुपर्ने ।

३) वैदेशिक रोजगारीमा जाने Semi – Skilled र Skilled कामदारलाई लागु गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी आर्थिक भार बढाउने हुँदा खारेज गर्नुपर्ने ।

४) निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउनु पर्ने ।

५) अभिमुखीकरण तालिमको नयाँ मापदण्ड अनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र LT No अगाडी नै तालिमको व्यवस्था मिलाउनु पर्ने ।

६) मानव तस्करी र बिचौलियालाई फाइदा पुग्ने गरी प्रदान भई रहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारबाही हुनु पर्ने ।

७) वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको E7 भिसामा कामदार पठाउन व्यवसायी मार्फत व्यवस्था गर्नुपर्ने ।

८) साउदी अरब कामदार पठाउन काठमाडौँ स्थित दूतावासले केही सीमित व्यवसायीलाई मात्रै ID दिने र भएका ID लाई पनि अनावश्यक झन्झट दिँदै कतिपय व्यवसायीको बिनाकारण ID कार्ड खोस्ने र सीमित व्यवसायीलाई मात्रै एकाधिकार साथ कार्य गर्न बल पुग्ने कार्य गरिरहेकोले उक्त कार्य रोक्न र नयाँ व्यवसायीहरुले साउदी अरबबाट मागपत्र ल्याए पनि कामदार पठाउन नपाइरहेकाले सबै व्यवसायीहरुले साउदी अरब कामदार पठाउन पाउने व्यवस्था गर्न पहल गरिदिनुपर्ने ।

९) वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय र छलफल गरी मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने ।

१०) FEMIS प्रणाली पूर्ववत् रुपमा अविलम्ब संचालनमा ल्याउन कार्य प्रारम्भ गरिनुपर्ने ।