म्यान्माका अल्पसङ्ख्यक लडाकूहरूद्वारा बङ्गलादेश र भारतको सीमा नजिकैको सहर कब्जा

२ माघ २०८०

२ माघ , स्वच्छखबर,म्यान्मा । म्यान्मामा एउटा सशस्त्र जातीय अल्पसङ्ख्यक समूहले बङ्गलादेश र भारतको सीमा नजिकै एउटा सहर र धेरै जुन्ता चौकीमाथि कब्जा गरेको बताएको छ ।
यो घटना सङ्कटग्रस्त सरकारी सेनाका लागि पछिल्लो झट्का हो ।

नोभेम्बरमा अराकन सेना (एए) ले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि म्यान्माको पश्चिमी राखिन र चिन राज्यहरूमा झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि धेरै हदसम्म कायम रहेको युद्धविराम समाप्त भएको छ ।

एए म्यान्माको सीमावर्ती क्षेत्रहरूमा एक दर्जन सशस्त्र जातीय अल्पसङ्ख्यक समूहहरूमध्येको एक हो । यीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि स्वायत्तता र आकर्षक स्रोतहरूमा नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् ।

लडाकूहरूले बङ्गलादेश सीमाबाट करिब २० किलोमिछर टाढा चिन राज्यको पलेटवा सहरमाथि कब्जा गरेको समूहले बताएको छ । पलेटवा कलादान नदीमा अवस्थित छ । एएले भारतलको मिजोरम राज्यको सीमामा ६ सैन्य अड्डामा पनि कब्जा गरेको बताएको छ । अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक समूहको गठबन्धनले म्यान्माको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गरी सहरहरू तथा चीनको सीमामा महत्वपूर्ण व्यापारिक केन्द्रहरूमाथि कब्जा गरेको थियो ।