विभिन्न ब्रान्डका नक्कली मदिरा बनाएर बिक्री गर्ने ९ जना पक्राउ

३ माघ २०८०

३ माघ , स्वच्छखबर,काठमाडौं ।  प्रहरीले विभिन्न व्रान्डका नक्कली मदिरा बनाई बिक्री वितरण गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री वितरण भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न व्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी छन् । पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

उनीहरुबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद भएको घिमिरेले जानकारी दिए ।

उनीहरुले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्रि गर्ने खुलेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका बिभिन्न ब्रान्डका मदिराहरु समेत बरामद गरेको छ ।