‘नाम’ले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्छः प्रधानमन्त्री

५ माघ २०८०

५ माघ , स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । “नाम आफैँमा सहयोगलाई प्रगाढ बनाउने थलो हो । सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ”, उनले भने ।

समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सबै देशले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनुपर्ने बताए ।