सरकारसँग सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्ः उपमहासचिव ज्ञवाली

७ माघ २०८०

७ माघ , स्वच्छखबर,चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारका कारण देशको बाह्य सम्बन्ध बिग्रिएको आरोप लगाएका छन् । प्रेस चौतारीले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सरकारका कारण नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका आरोप लगाएका हुन् ।

उनले भने, ‘सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ ।’

उनले सरकार देशको लागि बोझ भइसकेको तर पनि तत्कालै ढाल्नसक्ने अवस्था पनि नभएको बताए । उनले भने, ‘सरकारका बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन। सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन् । यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो । संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवर्तन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ।’

उनले १० हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको र भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको भन्नै आपत्ति जनाए ।

प्रधानमन्त्री, मन्त्री स्वयम् सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका भन्दै ज्ञवालीले गठबन्धन सरकारको विरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्ने बताए ।