न्युरोड क्षेत्रमा पार्किङ निषेध, विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ

९ माघ २०८०

९ माघ , स्वच्छखबर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए ।

उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।