राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी, नतिजा आजै आउने

११ माघ २०८०, बिहीबार १०:३२

११ माघ , स्वच्छखबर, काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान भइरहेको छ । सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक–एक वटा मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र तोकेको छ ।

विहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा विभिन्न आठ राजनीतिक दलका ५१ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ । कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । हाल कायमा प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.