इमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ,अध्यक्ष तथा ढोरपाटन नपाका मेयर नेपाली अझै फरार

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर,काठमाडौं । बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष पक्राउ परेकी छन् । सहकारी सञ्चालक समितिकी कोषाध्यक्ष बागलुङको निसीखोला गाउँपालिका–३ घर भएकी २७ वर्षीया लक्ष्मी सेन सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीवार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि शुक्रवार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआईबीले जनाएको छ । सरिता तिमल्सेना कँडेलसमेतको संयुक्त जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । बचतर्कताको झन्डै दुई अर्ब रूपैयाँ हिनामिना गरेका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने अझै फरार छन् ।

उनीसहित ८ जनाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । बचतकर्ताहरू आफ्नो निक्षेप रकम फिर्ता माग्दै संघर्ष समिति नै गठन गरेर आन्दोलनमा समेत उत्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अहिलेसम्म १५ सय ३६ जनाले एक अर्ब २८ करोड ८३ लाख रूपैयाँको बिगो दाबीसहित प्रहरीमा उजुरी दिएका छन्  । प्रहरीले सञ्चालक नेपालीलाई नियमित खोजी गरिरहे पनि उनी कहाँ कुन अवस्थामा छन् भन्ने पत्ता लागेको छैन ।