सहिद दिवसको दिन कांग्रेसले वडा वडामा कार्यक्रम गर्ने

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसको धर्म भनेको देश र जनताको हित गर्नु रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले नेपाली काङ्ग्रेस पार्टी बनेको निर्वाचन लड्न, हार्न र जित्न मात्रै नभएको भन्दै जनताको हितको लागि निरन्तर लाग्न आवश्यक भएको बताएका हुन् ।

उनले कांग्रेस सुशासन र उन्नतिको यात्रामा अझै धेरै पछाडि रहेको भन्दै काङ्ग्रेसले संकल्प गर्ने समय पनि आजै भएको बताए । उनले अब दिनमा जिल्ला र केन्द्रमा नभई वडामा मात्रै कार्यक्रम हुने जानकारी दिए ।

उनले ती कार्यक्रममा भाषण र औपचारिक नभई सामाजिक सेवाको कार्यक्रम हुने बताए । उनले भने, ‘भोलिबाट देशैभरि काङ्ग्रेसको समुदाय अभियान सुरु हुन्छ । सहिद दिवसको दिनमा ६ हजार ७ सय ४३ वटा वडामा मात्रै कार्यक्रम हुन्छ जिल्ला र केन्द्रमा कुनै कार्यक्रम हुँदैन । तपाइँ जहाँको क्रियाशील सदस्य हुनुहुन्छ, त्यही वडामा पुग्नुपर्छ र त्यो दिन कुनै भाषण र औपचारिक कार्यक्रम हुँदैन । त्यो दिन कुनै एउटा सामाजिक सेवाको कार्यक्रम गर्छौ ।’