नेपाल यु-१९ विश्वकपको ‘सुपर सिक्स’मा प्रवेश

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर,काठमाडौं ।  नेपाल अफगानिस्तानलाई हराउँदै आईसीसी यु-१९ विश्वकप क्रिकेटको [सुपर सिक्स’ मा पुगेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार भएको खेलमा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै ‘सुपर सिक्स’ मा पुगेको हो ।

अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायो । नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए ।

यस्तै दीपक बोहराले २७ रन जोडे । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो । अफगानिस्तानका मोहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।

यो समूहबाट पाकिस्तान र न्युजिल्याण्डले यसअघि नै सुपर सिक्सनको यात्रा तय गरिसकेका छन् । समूह चरणबाट विदा भएको अफगानिस्तानले १३ औं स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।