घुस लिएको आरोपमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्षको जेल सजाय

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर,काठमाडौं ।  मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारवाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको छ ।

सरकारी प्रसारक सिसिटिभीको रिपोर्टअनुसार चाइना डेभलपमेन्ट बैंकका उपाध्यक्ष भइसकेका हे जिङजियाङलाई बेइजिङको एक अदालतले ‘घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको’ अभियोगमा सजाय सुनाएको छ ।

रिपोर्टमा उनलाई अधिकारीहरूले अनुसन्धानको दायरामा राखेपछि उनको अपराध सन् २००६ देखि सन् २०२१ सम्म भएको बताइएको छ । सिसिटिभीले ६० वर्षीय हेमाथि ५१ लाख युआन (करिब सात लाख २० हजार अमेरिकी डलर) जरिवानासमेत गरिएको बताएको छ ।

चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएपछि गहिरोसँग व्याप्त आधिकारिक भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन् । समर्थकहरूले राष्ट्रपति सिको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएका छन् । यद्यपि आलोचहरूले यसले राष्ट्रपति सिको राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग गरेको बताएका छन् ।

हालै भ्रष्टाचारविरुद्धको अभियानले मुलुकका केही शीर्ष फाइनान्सरहरूलाई निशाना बनाएको छ । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका अर्का पूर्वउपाध्यक्ष झोउ छिङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो । गत साता राज्यको स्वामित्व भएको चिनियाँ बैङ्किङ एभरब्राइट समूहका पूर्वअध्यक्षलाई भ्रष्टाचार तथा घुसखोरीको आशङ्कामा पक्राउ गरिएको थियो ।