सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी

१४ माघ २०८०

१४ माघ , स्वच्छखबर,  काठमाडौँ ।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना अभियोगमा थप दुई जनाविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोलले सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । सहकारीका संस्थापक अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईविरुद्ध गत शुक्रबार डिफ्युजन नोटिस जारी भइसकेको छ ।

कास्की प्रहरीले जीबीसहित वर्तमान र पूर्वअध्यक्षविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई पत्राचार गरेको थियो । जीबी राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।