संसद सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँः प्रधानमन्त्री

१६ माघ २०८०

१६ माघ , स्वच्छखबर, काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीका बारेमा छलफल गरेको प्रधानमन्त्री कार्यालयको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसद्लाई बिजनेस दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, “अघिल्लो वर्ष संसद्ले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि बिजनेस दिएन भन्ने मत पनि छ तर यसपटक त्यस्तो नहोस् ।”

छालफलका क्रममा प्रधानमन्त्रीले भने, “संसद् सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँ । मुख्यसचिवले ‘फलो अप’ गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला । यसपटक संसद्लाई व्यवस्थित रूपले बिजनेस दिनुपर्छ । त्यो गुनासो नआउने गरी काम गर्नुहोला ।”

छलफलमा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद् पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।

बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको भन्दै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही बिल पेस गर्न सकिने गरी तयारी गरिएको बताए ।
सचिव सापकोटाले केही विधेयक संसद् अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका सन्दर्भमा द्रूत रुपमा काम गरिने जानकारी दिए ।