पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष जेल सजाय

१६ माघ २०८०, मंगलवार १७:२२

१६ माघ , स्वच्छखबर, बीबीसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ ।

उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए । खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका थिए ।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । खान भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन् । इमरान खानले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन् ।

गोपनीयतासम्बन्धी ऐनअन्तर्गत उनलाई उक्त सजाय तोकिएको हो । पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि खानविरुद्ध उक्त सजाय सुनाइएको हो । उनलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन । फेब्रुरुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदै छ । क्रिकेटबाट राजनीतिमा आएका खानलाई हालका सत्ताधारीले जसरी पनि चुनावमा भाग लिनबाट रोक्ने रणनीति अपनाएको कतिपयले बताउने गरेका छन्।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.