एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धनः अध्यक्ष ओली

१७ माघ २०८०

१७ माघ , स्वच्छखबर, काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् । गठबन्धन सरकार बन्ने बितिक्कै विकास सबै योजना काटिएको उनले बताए ।

ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोपसमेत लगाए । उनले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारेका छन् ।