९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मानव तस्करीमा संलग्न भएको आरोपमा मुद्दा दर्ता

१८ माघ २०८०

१८, माघ, स्वच्छखवर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी कागजात किर्ते गरी संगठित रुपमा भिजिट भिसामा मानव तस्करी गरेको भन्दै गीता शाह, सरोजकुमार यादव, नरवीर खड्का, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्कीविरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै फरार रहेका ताराबहादुर कुँवर, केदारबहादुर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विलम पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो लिम्बु, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईविरुद्ध मुद्दा दर्ता भएको हो ।

त्यस्तै, ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि विमानस्थलबाट बाहिर पठाउने प्रक्रियामा अध्यागमनका कर्मचारीहरूको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

गत मंसिर १८ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागज कीर्ते गरी मानव तस्करी गर्ने गिरोहसँग संलग्न रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्न थालेपछि सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।