उद्योगी चौधरीलाई पक्राउ गरेर सरकारले लगानीको वातावरण विथोल्ने काम गरेको निजीक्षेत्रको प्रतिक्रिया

१८ माघ २०८०

१८, माघ, स्वच्छखवर, काठमाडौं ।उद्योगी अरुणकुमार चौधरीको पक्राउप्रति निजीक्षेत्रले आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोमा आपत्ति जनाएको हो । महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ ।

पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको महासंघले जनाएको छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ’महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ।’

केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन लागेको सन्दर्भमा व्यवसायीमाथिको धरपकडले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने पनि महासंघले जनाएको छ।

त्यसैगरी नेपाल उद्योग परिसंघले पनि निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै परिसंघले चौधरी यही देशको माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छाडेर कतै जान नलागेको भएपनि धरपकड शैलीमा पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।

परिसंघले भनेको छ, ‘सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ व्यवसायीहरू माथि धरपकडको डन्डा वर्षाइरहने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सिने प्रस्ट छ । यसले लगानीको वातावरण विथोल्नेबाहेक अरु केही गर्दैन ।’