व्यवस्थाप्रतिको विश्वास बढाउन राजनीतिमा शुद्धीकरण आवश्यकः महामन्त्री थापा

२० माघ २०८०

२०, माघ, स्वच्छखवर, पर्सा ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको शनिबार आयोजित रजत महोत्सवमा महामन्त्री थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको बताएका हुन् ।

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ”, उनले भने, “सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।” माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिर्वतन ल्याउन सकिने उनको भनाइ थियो ।

उनले बढदो महङ्गी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेको बताए ।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने भन्दै उनले  सबैका लागि समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चारक्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक एवम् प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रतिनिधिसभा सदस्य अजय चौरसिया, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणालागयतका वक्ताले व्यक्तिले गरेका कमी कमजोरीको आडमा लोकतन्त्रलाई केही अवसरवादीहरले बदनाम गर्ने चेष्टा गरिरहेको बताएका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, ईश्वरचन्द गौतम, कविर राणालाई महामन्त्री थापाले दोसल्ला र कदर पत्रले सम्मानित गरे ।