पीडितलाई थप पीडा थप्ने गरी टिआरसी विधेयक पास गर्न सकिन्नः अध्यक्ष ओली

२२ माघ २०८०

२२ माघ, स्वच्छखवर, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यथास्थितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक पास गर्न नसकिने बताएका छन् ।

सोमबार जनकपुरधाम विमास्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्ग्याउँदा सबैको हित हुने बताएका हुन् । उनले विधेयकमा समेटिएका केही कुराले पीडितलाई न्याय भन्दा थप पीडा थप्ने अवस्था आउने उल्लेख गर्दै सबैको सममतिमा मिलाएर मात्रै विधेयक पारित गराउनेमा आफूहरु रहेको बताए ।

उनले भने, ‘मस्यौदामा केही कुरा मिलेका छैनन् । त्यही कुरालाई मिलाएर पास गर्नुपर्छ भन्ने कुरा भैरहेका छन् । पीडितहरुले न्याय पाउनुपर्यो । पीडितलाई पीडा थप्नु भएन । अन्तर्राष्ट्रिय समुदायले स्वीकार्ने गरी, सर्वोच्च अदालको फैसला समेतलाई ध्यान दिएर मानवता विरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले सहमति हुनुपर्छ ।’

अध्यक्ष ओलीले प्रदेशले ऐनका कारण कामै गर्न नसकेको भन्दापनि आफ्नो मान्छे भर्ती गर्नलाई प्रदेश नेतृत्वले हतारो देखाएको टिप्पणी गरे । उनले राजनीति गर्नेले प्रहरी चलाउँदा धेरै बिग्रिएको भन्दै प्रहरीलाई नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रुपले आफ्नै ढंगले चल्न दिनुपर्नेमा जोड दिए ।