इजरायललाई हतियार आपूर्ति बन्द गर्न अमेरिका र सहयोगीहरूलाई इयूको आह्वान

१ फाल्गुन २०८०

१ फाल्गुन, स्वच्छखवर,  इजरायल। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा “थुप्रै मानिसहरू“ मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् ।

इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उदृत गर्दै बोरेलले भने, ‘ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए।’

‘के योे तार्किक छैन?’ उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गरेका हुन् ।

बोरेलले भने, ‘यदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ।’ यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् ।

गाजा शहर रफाहमा शरण खोज्ने १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरायली सैन्य कारबाही अघि बढाइएको छ । इयु विदेश नीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । फेब्रुअरी ११ को त्यहाँको आक्रमणले ‘एक अकल्पनीय मानवीय प्रकोप निम्त्याउने’ र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने उनको धारणा छ ।

यसैबीच ग्रीसका पूर्वअर्थमन्त्री यानिस भारोफाकिसले गाजामा भइरहेको अत्याचारको जिम्मेवारी युरोपेली देशहरू रहेको बताए । ‘हामी युरोपेलीहरूले समस्या सृजना गरेका छौं … हामी यसको स्थायित्वका नाममा खराब भूमिका खेलिरहेका छौं,’ भारोफिकोसले भने ।

बोरेललाई पूर्व अर्थमन्त्रीले यस घटनामा इजरायललाई पर्याप्त दबाब नदिएको र इयूले इजरायललाई सामूहिक रूपमा सशस्त्र सहयोग गरिरहेको आरोप लगाएका छन् ।

‘जर्मनी, फ्रान्स र इटालीले मानिसहरूलाई मार्न रफाहमा प्रयोग भइरहेका हतियारहरू पठाइरहेका छन्,’ भारोफाकिसले थप टिप्पणी गरेका छन् ।

यसबाहेक, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले पनि रफाहमा इजरायली भूमि हमलाको लागि दुःख व्यक्त गरेका छन् । यदि नियोजित घुसपैठ रोकिएन भने भविष्यमा के हुन्छ भन्ने पूर्ण कल्पना गर्न सकिने टर्कले उल्लेख गरे ।

प्यालेस्टिनी अधिकारीहरूले बताए अनुसार अक्टोबरदेखि इजरायली आक्रमणमा २८ हजार ३४० भन्दाबढी मानिसहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पनि खासगरी महिला र बालबालिकाहरू बढी छन् । सहायता एजेन्सीहरूको भनाइ अनुसार गाजाको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ ।