महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा दुईसय ८१ जनाको मृत्यु

६ चैत्र २०८०

चैत्र ६, स्वच्छखबर, काठमाडौं । इरानले सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा दुईसय ८१ जनाको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको सुरूमा दिएको भन्दा निकै कम हो । इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट प्रकाशित करिब तीनसय पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको मृत्युपछि भएको अशान्तिका कारण २८१ जनाको मृत्यु भएको अनुमान गरिएको हो । यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो ।

इरानको ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको तीन दिनपछि २२ वर्षीया अमिनी इरानी कुर्दिशको मृत्यु भएको थियो । राष्ट्रपति इब्राहिम रइसीले अमिनीको मृत्युपछि देशभर भड्किएको हिंसा र अशान्तिको कारणबारे अनुसन्धान गरेको विशेष समितिले अमिनीको ‘सेरेब्रल हाइपोक्सिया’का कारण मृत्यु भएको बताएको थियो ।