आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

२९ चैत्र २०८०

चैत्र २९, स्वच्छखबर, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

बैंकले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।

नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ ।

बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।

कार्यक्रममा एडिबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले विश्वअर्थतन्त्रमा देखिएको शिथिलतका कारण नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पर्यटन तथा विप्रेषण क्षेत्र प्रभावित हुनसक्ने जोखिम रहेको चर्चा गर्दै गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवं समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।