मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता : प्रधानमन्त्री

९ बैशाख २०८१

९ चैत्र, स्वच्छखबर, महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन् ।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन् ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।

“युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।”