श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्द्धन गर्न कांग्रेस सदैव क्रियाशील छ : सभापति देउवा
१९ बैशाख, स्वच्छखबर, काठमाडौं ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्द्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताउनुभएको छ ।
मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गर्नुभएको हो ।
सभापति देउवाले विसं. २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताउनुभयो ।
नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै उहाँले कांग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: