सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिकाे मागमा काँग्रेसकाे अडान कायमै
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको अडान यथावत राखेको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले आफ्नो अडान यथावत राखेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुले बैठकमा संसदीय छानबिन समितिको माग यथावत राखेको जानकारी दिए । उनले गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरुको छानबिन गर्ने गृहमन्त्रीको छानबिन नगर्ने भन्ने नहुने बताए ।
उनले भने, ‘गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता देखिएको छ । हामीले संसदीय छानबिन समितिको माग गरेको छौं । हामीलाई विश्वास छ सरकारले समिति बनाउँछ । अब सदन चल्ने नचल्ने विषय सरकारको क्रियाकलापमा भरपर्छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिनुपर्ने बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले एमाले अध्यक्ष ओलीले उहाँमाथि प्रश्न उठेपछि बोल्न पाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: