पीएसजीलाई हराउँदै डर्टमण्ड युईएफए च्याम्पियन्स लिगको फाइनलमा

२६ बैशाख २०८१

जर्मन क्लब बोरुसिया डर्टमण्ड युईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)लाई १-० गोलले तथा समाग्रमा २-० गोलले हराउँदै डर्टमण्ड फाइनलमा पुगेको हो ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन म्याट हुमेल्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा ब्रान्डटको क्रसमा हुमेल्सले हेडर गोल गर्दै डर्टमण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । पीएसजीले खेलमा थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन सकेन ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा डर्टमण्ड १-० गोलले विजयी भएको हो । जितसँगै डर्टमण्ड फाइनलमा पुग्दा पीएसजी प्रतियोगिताबाट बाहिरिएको छ । अब डर्टमण्डले आज रियल म्याड्रिड र बायर्न म्युनिखबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिको लागि खेल्नेछ ।