सहकारी ठगीमा गृहमन्त्री लामिछानेका संलग्नता भएका यथेष्ट प्रमाण सरकारसँगै छः महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेका संलग्नताका प्रमाणहरु सरकारसँग रहेको बताएका छन् ।
शनिबार पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले पोखराको सूर्यदर्शन सहकारीको सीआइबीको प्रतिवेदन, रुपन्देहीको सरकारी वकिलको कार्यालयमा रहेको बताएका हुन् । उनले गृहमन्त्रीले जीबी राईसँग मिलेर सहकारी ठगेका यथेष्ट प्रमाणहरु रहेकाले तथ्य प्रमाण खोज्न अन्यत्र जानु नपर्ने बताए ।
उनले भने, ‘उहाँले जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीको करोडौं रुपैयाँ गोरखा मिडिया नेटवर्क लगायतका संस्थामा अपचलन गरेको हाम्रो दाबी छ । यसमा हामी स्पष्ट छौं।’
उनले रूपन्देहीमा प्रहरीले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदन, सीआईबीले गरेको अनुसन्धान, पोखरा महानगरले तयार पारेको प्रतिवेदनले लामिछाने संलग्न रहेको देखाएको बताए ।
उनले संसदीय समिति बनाउन प्रधानमन्त्रीलाई गम्भीर बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्: