सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सहमत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका छन् । शनिबार बिहान कांग्रेस नेताहरुसँगको छलफलमा प्रधानमन्त्री संसदीय समिति गठन गर्न सहमत भएका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको जानकारी दिए। उनले सत्ता साझेदार दलसँग छलफल गरेर पुनः बैठक बस्न जानकारी गराएको बताए।
उनले भने,‘कांग्रेसले राखेका माग र संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत हुनु भयो। उहाँ सकारात्मक हुनुहुन्छ, थप छलफल गर्ने कुरा भएको छ ।’
सदनको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ।
बिहीबार बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए।
तर, कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन् । संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाइएको प्रतिनिधि सभा बैठक आइतबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्: