वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा सभापति देउवाको जोड

५ जेष्ठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हक अधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारी स्तरबाट ठोस प्रयास हुनुपर्ने बताए ।

वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

पार्टी नेता डा शेखर कोइरालाले सरकार परिवर्तन हुनेबित्तिकै नीति नियम परिवर्तन भइरहने समस्याका कारण व्यवसायी मारमा परेका बताए । उनले ‘भिजिट भिसा’मा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न सरकार लाग्नुपर्ने बताए।